० समग्रमा तेक्वान्दो खेलले प्रगति गर्दै गइरहेको छ, अहिले तेक्वान्दोको अवस्था कस्तो छ ?
आठौं साफ गेमको नतिजा हेर्ने हो भने असाध्यै राम्रो थियो । त्यसपछि केही खस्कियो र १३ औं साग गेमसम्म आइपुग्दा केही स्तर उन्नति भएको छ । पछिल्लो समय कोरोना भाइरसका कारण खेलाडीहरूले प्रशिक्षण लिन नपाएका कारण खेलाडीको स्तरमा केही कमी आएको महसुस भएको छ । तर, अहिले समग्ररुपमा हेर्ने हो भने सबै राष्ट्रियस्तरका खेलाडीहरू प्रशिक्षणमा फर्किसकेका छन् । आगामी २०२१ मा जापानमा हुने टोकियो ओलम्पिकमा सहभागिता जनाउनका लागि बिरबहादुर महरालगायतका खेलाडीहरूले नेपाल पुलिस क्लवमा कोरियन गुरु क्वानयोङदलले प्रशिक्षण गराइरहेका छन् ।
० आठौं साफ गेमपछि तेक्वान्दा खेल स्तर घट्नुको कारण के होला ?
आठौं साफ गेममा नेपाललाई ऐतिहासिक दोस्रो स्थानमा पु¥याउन तेक्वान्दो खेलले महत्वपुर्ण भूमिका निभएको थियो । आठौं साफ गेममा तेक्वान्दोका १६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । १६ खेलाडीमध्ये १४ जनाले स्वर्ण पदक ल्याएका थिए भने दुई जना फाइनलमा पराजित भई रजत पदक ल्याएका थिए । त्यतिबेलाको सरकारले साफ गेममा स्वर्ण पदक ल्याउने खेलाडीहरूलाई राजधानीमै घडेरी दिने घोषणा गरेको थियो । तर, राज्यले खेलाडीलाई घडेरी दिने आश्वासनमात्र दिएका कारण खेलाडीहरूको मनोबल गिर्दै गयो, त्यसपछि तेक्वान्दो मात्र होइन अन्य खेलका सक्षम खेलाडीहरूले आफ्नो भविष्य नदेखेपछि विदेश पलायन भए । त्यसपछि नेपालको खेलक्षेत्र विस्तारै खस्कँदै गएको हो । तेह्रौं साग गेममा अर्को ऐतिहासिक ५१ वटा स्वर्ण पदक ल्याई दोस्रो स्थान हासिल गराएका खेलाडीहरूलाई राज्यले दैनिक जिविकोपार्जन र भविष्य सुनिश्चित नगराउने हो भने फेरि त्यही अवस्था नआउला भन्न सकिन्न ।

० राज्यले के गर्दा खेलाडीको स्तर बढ्छ र नेपाललाई विश्वसामु चिनाउने वातावरण बन्छ ?
राज्यले खेलकुद क्षेत्रमा लगानी गर्दा कन्जुस्याई गर्नु भएन । खेलाडीले खेलेरै आफ्नो दैनिक जिविकोपार्जन र परिवारको भविष्य सुनिश्चित गर्ने वातावरण राज्यले बनाइदिनु प¥यो । खेलाडीलाई राज्यले खेलेरै भविष्य सुनिश्चित हुने वातावरण बनाइदिएको खण्डमा खेलकुदमा रुचि राख्ने आउँदो पिँढीले पनि खेलकुद क्षेत्रलाई महत्व दिई सानैदेखि आफूलाई रुचि भएको खेलमा मेहनतका साथ प्रशिक्षण लिने र विभिन्न प्रतियोगिताहरूमा सहभागि हुने गर्छन्, त्यहीँबाट सक्षम खेलाडीहरू उत्पादन भई नेपाललाई विश्वसामु चिनाउने वातावरण बन्छ । यसतर्फ राज्यले ढिलो नगरी राष्ट्रको गहनाका रुपमा रहेको खेलाडीहरूलाई मनोबल गिर्ने काम नगरी विदेशमा जस्तै नेपालमा पनि खेलकुद क्षेत्रमा लगानी गर्नुपर्ने अवस्था सिर्जना भइसकेको छ । यदि ढिलो गरेको खण्डमा अहिले भएका सक्षम खेलाडीहरू फेरि विदेशिने छन् र नेपालको खेलस्तर फेरि खस्कँदो हुनेमा कुनै शंका छैन । खेलकुद क्षेत्रलाई राजनीतिक गर्ने थलोको रुपमा नलिन पनि राज्य संचालनमा पुगेका जिम्मेवार व्यक्तिहरूलाई आग्रह गर्न चाहँछु । 
० नेपालमा तेक्वान्दो खेल विकासका लागि राज्यले कस्तो योजना ल्याउँनुपर्छं ? 
वास्तवमै नेपालाई विश्वसामु चिनाउने खेलको रुपमा रहेको तेक्वान्दो नै हो । यस खेललाई राज्यले महत्व दिई खेलाडी उत्पादन गर्ने वातावरण बनाउनुपर्छ । तेक्वान्दो खेल इन्डिभिजुयल खेल हो । यस खेलबाट मेडल जित्न राज्यले कम्तिमा २० जनालाई आवाससहितको व्यवस्था गरी प्रशिक्षण दिलाउने हो भने ओलम्पिकमा नेपालले २—४ वटा स्वर्ण पदक ल्याउन कुनै कठिनाई पर्ने छैन । यसतर्फ राज्यले खासै चासो नदेखाएको देख्दा दुःख लाग्छ । विदेशमा १० वर्षपछि हुने गेमको लागि करिब १० वर्ष अगाडिदेखि तयारी गर्छन् । ओलम्पिकमा खेल्ने खेलाडीहरूलाई आवाससहितको सम्पूर्ण सुविधा र प्रशिक्षणका लागि चाहिने सम्पूर्ण खेल सामाग्रीहरू उपलब्ध गराई उनीहरूलाई कसरी हुन्छ मेडल जित्नुपर्छ भन्ने वातावरण बनाइदिएको हुन्छ । नेपालमा पनि विदेशमा जस्तै १० वर्ष होइन पाँच वर्ष अगाडिदेखिको योजना बनाई लगानी गर्ने हो भने मेडल जित्न सहज बन्ने छ । अहिलेको अवस्था हेर्ने हो भने साफ गेम, एसियन गेम, र ओलम्पिक गेम हुनुभन्दा केही महिना अगाडि मात्र खेलाडी छनौट गर्ने गरिन्छ । यस्तो अवस्थामा नेपालले पदक आशा कसरी गर्न सकिन्छ । नेपालको खेलकुदको इतिहास हेर्ने हो भने अहिलेसम्मे विश्वस्तरीय खेलहरूमा सहभागिता जनाउने मात्र काम राज्यले गरेको छ । तै पनि तेक्वान्दोले अपवादको रुपमा प्रदर्शन खेलकै रुपमा भए पनि ओलम्पिक गेममा सहभागिता जनाई कास्य पदकसम्म ल्याउन सफल बनेको छ । तेक्वान्दोका विधान लामाले ओलम्पिक गेममा कास्य पदक ल्याएर ओलम्पिक गेमकै इतिहासमा पदक तालिकामा नेपालको नाम लेखाउन सफल बनेका थिए भने सविता राजभण्डारीले एसियन गेममा रगत पदक ल्याएकी थिइन्, यस्तो गेमलाई राज्यले वेवास्ता गरेका कारण उनीहरू विदेशिन वाध्य भएका छन् । यसरी सक्षम खेलाडीहरूलाई विदेशिन वाध्य नपार्न र तेक्वान्दो खेल विकासका लागि राज्यले एउटा नीति नै ल्याई विदेशमा जस्तै तेक्वान्दो खेलको विषयलाई लिएर विश्वविद्यालय खोल्नुपर्छ । तेक्वान्दोको विशेषज्ञता हासिल गराई खेलाडीहरूको मनोबल बढाउने काम गर्दै लैजानुपर्छ । पछिल्लो समय तेक्वान्दो खेल विकास तिब्ररुपमा भइरहेको छ । नेपालको प्रायः स्कुलहरूमा विद्यार्थीहरूलाई आत्मरक्षाका लागि तेक्वान्दो खेल खेलाउने गरिएको छ । यसले पनि राज्यलाई तेक्वान्दो खेलमा लगानी बढाउनुपर्ने अनुभुती भइरहेको छ ।
० नेपालमा भएको आठौं साफ र तेह्रौ साग गेममा नेपाल दोस्रो भयो तर, अन्य साउथ एसियाका देशमा भएको गेममा सधै्रैं पाँचौं र छैठौं पोजिसनमा पुगेको इतिहास छ, यस्तो हुनुको कारण के होला ?
नेपालले दोस्रो स्थान हासिल गर्नु भनेको पहिलो त होम ग्राउण्डकै कारण हो । दोस्रो अन्य साउथ एसियन मुलुकमा भएको गेममा सधैं पछाडि पर्नुको मुख्य कारण भनेको खेलाडी छनौट र तालिम उपयुक्त समयमा नहुनु, खेलाडीहरूलाई दिइने सुविधा उपयु क्त नहुनु, क्लोज क्याम्पका बेला सरकारले खेलाडीहरूलाई जति खेल्नुपर्ने वातावरण बनाइदिनु पर्ने हो, त्यो नगरी राज्यले एउटा जिम्मेवारीमात्र पूरा गर्ने भएका कारण पनि यस्तो नजिता आउनुको मुख्य कारण हो ।
० अन्तिममा भन्नै पर्ने कुराहरू केही छन् कि ?
नेपालमा खेलकुदलाई कुनै चाडपर्वको रुपमा लिने गरेको जस्तो छ । किनकी गत डिसेम्बरमा नेपालमा साग जेम भयो । त्यो गेममा नेपालले ५१ बटा स्वर्ण पदक ल्याउन सफल भयो । त्यो पनि राज्यको भन्दा पनि प्रशिक्षक र खेलाडीहरूको मेनतका कारण नै हो । त्यतिबेला नेपालमा एउटा ठूलै चाड मनाएको जस्तो भान थियो । त्यसपछि नेपाललाई इतिहासमै सबैभन्दा धेरै मेडल ल्याउन सफल खेलाडीहरूलाई अहिले राज्यले खासै वास्ता गरेको छैन । ती खेलाडीहरू अहिले के गर्दैछन्, कुन अवस्थामा छन् राज्यले त्यसको खोजीनीति गरेको अवस्था छैन । कोभिड—१९ का कारण रोकिएको एसियन गेम र ओलम्पिक गेमका लागि मिति निश्चित नभए पनि राज्यले ती गेमहरूका लागि खेलाडीलाई तयारी अवस्थामा राख्नुपर्ने थियो । तर, १३ औं साग गेममा मेडल ल्याउने खेलाडीहरूलाई अहिले राज्यले वेवास्ता गरिरहेको छ । राज्यले अब आउँदै गरेको यस्ता ठूला गेमका लागि केही महिना अगाडि मात्र खोजी गरी उनीहरूलाई प्रशिक्षण दिलाउने काम गर्छन् । राज्यले नै खेलकुद क्षेत्रमा लाग्ने र खेलकुद क्षेत्रलाई आफ्नो कर्मथलो बनाउनेहरूप्रति यसरी वेवास्ता गरेपछि खेलाडी र खेल क्षेत्रलाई कर्मथलो बनाउनेहरूको भविष्य के ? सोही कारण पनि नेपालको खेलकुद क्षेत्र दिनदिनै खस्कँदै जानुको मुख्य कारण यही हो । खेलकुद क्षेत्रमा लाग्ने खेलाडी, प्रशिक्षक, निर्णायकदेखि लिएर खेलकुदलाई माया गर्ने खेलप्रेमीहरूले ठूलै क्रान्ति गर्नुपर्ने देखिसकेको छ ।