ललितपुर । ललितपुर महानगरपालिकाले कोरोना संक्रमणका कारण बन्द रहेका विद्यालय खोल्न अनुमति दिएको छ । महानगरप्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा मंगलबार बसेको नगर शिक्षा समितिको बैठकले विद्यालयले विद्यालय व्यवस्थापन समिति, अभिभावक शिक्षक समिति, वडा कार्यालयसँग समन्वय गरी विद्यालय खोल्न अनुमति दिने निर्णय गरेको हो ।
बैठकमा नगरप्रमुख चिरीबाबु महर्जनले विद्यालयको भौतिक पूर्वाधार, विद्यार्थी संख्या हेरेर विद्यालय खोल्ने अधिकार व्यवस्थापन समितिलाई दिन गरेको प्रस्ताव अनुमोदन भएको छ ।
उनले विद्यालय संचालन गर्दा नेपाल सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड र विद्यालय संचालन कार्यविधि अपनाउन समेत निर्देशन दिए । नगरप्रमुख महर्जनले सामुदायिक विद्यालयलाई आवश्यक पर्ने साबुन, पानी र मास्क महानगरपालिकाले उपलब्ध गराउने प्रतिवद्धता जनाए ।
बैठकले स्वास्थ्यविज्ञ सहित महानगरले विद्यालय संचालनको अवस्था थाहा पाउन अनुगमन समितिले अनुगमन समेत गर्ने निर्णय गरेको छ ।
बैठकमा उपप्रमुख गीता सत्यालले व्यवस्थापन समितिको अध्यक्ष वडा अध्यक्ष हुने भएकाले विद्यालय कहिले र कसरी खोल्ने निर्णय समितिलाई दिँदा त्यो प्रभावकारी हुने स्पष्ट पारिन् । उनले भनिन्, ‘विद्यालय खोल्दा स्वास्थ्य मापदण्ड पुरा गर्नुपर्छ , त्यसको अनुगमन महानगरपालिकाले गर्छ ।’
महानगरका सामाजिक विकास समितिका संयोजक तथा वडा नं २४ का वडाध्यक्ष दिनेश कार्कीले विद्यालयले स्वास्थ्य मापदण्ड पुरा गरी विद्यालय संचालन गर्ने जिम्मा व्यवस्थापन समितिलाई दिँदा प्रभावकारी हुने स्पष्ट पारे ।
बैठकमा प्याब्सन,एनप्याब्सन, नेपाल शिक्षक महासंघ महानगरपालिका प्रतिनिधि सहभागी थिए । ललितपुर महानगरमा सामुदायिक र संस्थागत गरी झण्डै दुई सय पचास विद्यालय छन् । ती मध्ये ४० वटा सामुदायिक विद्यालय छन् ।
गोदावरी नगरपालिका साथै बागमती, कोञ्ज्योसोम र महाँकाल गाउँपालिकामा पनि विद्यालय संचालन गर्ने निर्णय हुँदा महालक्ष्मी नगरपालिका अन्योलमै रहेको छ ।
गोदावरी नगरपालिकाले ११ मंसिरमै पठनपाठन सुरु गर्ने निर्णय गरेको छ । नगरको निर्णय अनुसार नगरभित्रका विद्यालयमा पठन पाठन सुरु भएको छ ।
बागमती गाउँपालिकाले कोभिड महामारीपछि बन्द रहेका विद्यालय संचालन गर्न अनुमति दिएको छ । सम्बन्धित विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, वडा कार्यालय र वडाभित्र रहेका स्वास्थ्य संस्थाको प्रत्यक्ष निगरानी र समन्वयमा पढाइ सुरु भएको छ । ४८ वटा सामुदायिक विद्यालयमा स्वास्थ्य मापदण्ड अपनाउदै र वरिपरिको वर्तमान अवस्थालाई मध्यनजर गर्दै अध्ययन अध्यापन भइरहेको छ ।
कोञ्ज्योसोम गाउँपालिकामा पनि कोरोना भाइरसका संक्रमित नरहेकाले स्वास्थ्य मापदण्डका साथ अध्ययन अध्यापन भइरहेको छ ।
महाङ्कालमा गाउँपालिकाले पनि ११ मंसिरमा विद्यालय खोल्ने निर्णय गरेपछि धमाधम पढाइ भइरहेको छ । महाँकालमा २६ सामुदायिक र १ संस्थागत गरी २७ विद्यालय छन् ।
तर महालक्ष्मी नगरपालिकामा भने विद्यालय संचालन गर्ने सम्बन्धमा हालसम्म कुनै निर्णय भएको छैन । महालक्ष्मीमा ४४ संस्थागत र १५ सामुदायिक विद्यालयहरु छन् ।