सभामुखले नियमावली उल्लंघन गरेर बैठक चलाएको माओवादी सांसदको आरोप

16.9k Shares

काठमाडौं, २४ जेठ । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको उल्लंघन गरेको बताएका छन्। 

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद दाहालले केही दिनअघिको बैठकमा प्रधानमन्त्रीलाई रोस्ट्रममा उभ्याएर अन्य सदस्यहरूलाई बोल्न समय दिएको उल्लेख गर्दै सभामुखले प्रतिनिधिसभा नियमावलीको उल्लंघन गरेको बताएका हुन्। 

उनले सभामुखले प्रधानमन्त्रीले बोलिसकेपछि प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई बोलाएर फेरि टिकाटिप्पणी गर्ने अधिकार दिएको भन्दै आलोचना गरे । दाहालले भने, ‘मैले भन्नैपर्छ, अस्ति रोष्टमममा उभिएर प्रधानमन्त्रीले जवाफ दिँदै जाँदा यहाँहरुको माग बमोजिम, अघिल्लो दिन यहाँहरुले अवरोध गर्नुभयो । अघिल्लो दिन सदन अवरोध गर्नुभयो । यहाँहरुको माग थियो प्रधानमन्त्री सदनमा आउनुपर्छ । र उहाँले जवाफ दिनुपर्छ । तपाइहरुले प्रश्न गर्नुभयो । प्रधानमन्त्री जवाफ दिन रोष्टममा उभिँदाखेरी उहाँले जवाफ दिन पाउनुभएन । तपाईहरुले प्रधानन्त्रीको हुर्मत लिनुभयो । हेप्नुभयो ।’

उनले प्रतिनिधिसभा नियमावलीको मातहतमा रहेर बैठक सञ्चालन गर्न आग्रह गरे । ‘सदन चलाउँदा सदनमा हामी स्वतन्त्र छैनौँ । हामी हरेक सांसदहरु स्वतन्त्र छैनौँ । सभामुख पनि स्वतन्त्र हुनुहुन्न् । संविधानको मातहतमा र प्रतिनिधिसभा नियमावलीको मातहतमा रहेर मात्र हामीले आफ्ना अभिव्यक्ति राख्न पाइन्छ’ उनले भने– ‘हामी संविधानको मातहतमा रहेर, प्रतिनिधिसभा नियमावलीको मातहतमा रहेर आफ्ना अभिव्यक्ति राख्नुपर्नेमा सभामुख आफैँले पनि प्रतिनिधिसभा नियमावलीको उल्लंघन गर्नुभएको छ ।’

उनले देशमा भएका समस्याहरूको सबै मिलेर स्वामित्व लिनुपर्ने र मिलेर नै बेथिति, अराजकता र अनुशासनहीनताको अन्त्य गर्नुपर्ने बताए। 

सम्बन्धित समाचार