काठमाडौँ — कोरोना संक्रमणबाट २४ घन्टामा थप तीनको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा मोरङ जिल्ला सुनसरी नगरपालिका ८ निवासी ४५ वर्षीय पुरुष रहेका छन् । उनको मृत्यु साउन १४ गते भएको हो । उनलाई ज्वरो र स्वासप्रश्वासको समस्या थियो ।
त्यसैगरी वीरगन्ज महानगरपालिका ७ निवासी ७० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । मुटु तथा मधुमेहका रोगबाट ग्रस्त उनको साउन १४ गते मृत्यु भएको हो । उनी नारायणी अस्पतालमा उपचाररत थिए ।
मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका ५ निवासी ६८ वर्षीय पुरुष छन् । उनको नेशनल मेडिकल कलेजमा उपचाररत रहँदा बुधबार मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले यो सँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको बताए ।