काठमाडौं, १४ जेठ । कामको खोजीमा भारत जान हिँडेका दैलेख दुल्लुका माधव आचार्यलाई गत वैशाख ३१ गते बाँकेको कोहलपुरमा सर्पले डस्यो । कोहलपुरस्थित आफन्तकामा बन्दै गरेको नयाँ घरमा सुतेका बेला राति आचार्यलाई सर्पले डसेको थाहा भएन । बिहान जिब्रो बाक्लो हुँदै गएको र केही पनि निल्न सक्ने अवस्था नभएपछि स्वास्थ्य उपचारका लागि आचार्य नजिकैको मेडिकल हुँदै शिक्षण अस्पताल कोहलपुर पुगे ।
बिहान ७ बजे शिक्षण अस्पताल पुगेका आचार्यको स्वास्थ्य अवस्था बिग्रिएको सर्पदंशका कारण हो भन्ने एकीन नभएकाले शिक्षण अस्पतालका चिकित्सकले नाक, कान, घाँटी, आँखा विभागमा जाँच गर्दा गर्दै बिरामीको श्वास प्रश्वास प्रणालीमै समस्या भयो । सास फेर्न नसकेर ढलेपछि बिरामीको सघन उपचार कक्षमा उपचार सुरु भयो । सघन उपचार कक्षमा राखेर उपचार गर्ने क्रममा पुगेका सर्पदंश व्यवस्थापन तालिम लिएका चिकित्सकले बिरामीको लक्षणअनुसार सर्पदंश भएको अनुमान गरे पश्चात बिरामी १४ घण्टापछि राति ९ बजे शिक्षण अस्पताल कोहलपुरबाट भेरी अस्पताल नेपालगञ्ज प्रेषण भए । पूरै बेहास अवस्थामा भेरी अस्पताल पुगेका बिरामीको राति १० बजेर ३० मिनेटबाट मात्रै उपचार सुरु भयो ।
मस्तिस्क पनि सुस्त अवस्थामा पुगिसकेका बिरामीलाई भेरी अस्पतालमा सर्पदंशको उपचारमा संलग्न डा.कृष्ण आचार्यको टोलीले सघन उपचार कक्षमा राखेर ‘क्रिटिकल केयर’ सहित सर्पदंशको उपचार सुरु गर्यो । नौ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरेपछि बिरामीले नयाँ जीवन पाएको डा.आचार्यले बताए ।
“धामीझाँक्री कहाँ लगेर ल्याउँदा ढिलो हुन्छ, बाटोमै मृत्यु हुनसक्छ, सर्पले टोकेका व्यक्तिले समयमै उपचार पाए निको हुन्छ”, उनले भने । तराईका विभिन्न स्थानमा सर्प डसाइले हरेक वर्ष अकालमा ज्यान जाने गरेकाले त्यसबाट बचाउन सर्पदंशबाट कसैको मृत्यु नहोस् भन्ने नाराका साथ विश्व स्वास्थ्य सङ्गठन, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागको स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र रोटरी क्लबको आयोजनामा नेपालका २५ जिल्लामा चार वर्षे सर्पदंश रोकथाम अभियान सुरु भएको छ ।
अभियानका क्रममा नेपाली, थारू, अवधि, भोजपुरी र मैथली भाषामा सर्पदंशबारे मिथिला कलामा आधारित पाँच भाषाको पोस्टर, रेडियो कार्यक्रम र पीएसएमार्फत जनचेतना जगाउने काम भइरहेको रोटरी क्लब काठमाडौँ मिड–टाउनका अध्यक्ष डा.निर्मल रिजालले जानकारी दिए ।