काठमाडौं, ११ जेठ । काठमाडौं महानगरपालिकाले काठमाडौंका विभिन्न स्थानमा फुटपाथ मिचेर सञ्चालित ३४ वटा मोटरसाइकल वर्कसपलाई कारबाही गरेको छ । फुटपाथ मिचेर मोटरसाइकल मर्मत एवम् सरसफाइ गर्ने गरेको भन्दै महानगरले ती वर्कसपहरुलाई ५ हजार रुपैयाँका दरले जरिवाना तिराएरको जनाएको छ ।
महानगर प्रहरीले सडकमा मोटरसाइकल मर्मत गर्ने, मोबिल पोखेर सडक चिप्लो बनाउने, मर्मतका सामान सडक किनारामा राखेर फोहोर बनाउने, मोटरसाइकल सफा गरेको पानी सडकमा पठाएर कालो बनाउने ५५ जनालाई बुधबार नियन्त्रणमा लिएको थियो । उनीहरु आबद्ध ३४ वर्कसपबाट जरिवाना तिराएको महानगरले जनाएको छ ।
महानगरपालिका भित्र सहरी व्यवस्थापनमा अवरोध गर्नेहरुलाई तिराइएको जरिवानाबाट एकै दिनमा १ लाख ८५ हजार रुपैयाँ राजस्व संकलन भएको महानगरले जनाएको छ । महानगर प्रहरी बलले सार्वजनिक आवागमन, सहरी सुन्दरता र व्यवस्थापनमा वाधा गर्नेहरुलाई नियन्त्रणमा लिएर जरिवाना तिराउने गरेको छ ।