ललितपुर । ललितपुरको प्रहरी चौकीहरु मध्ये निकै विवादित चौकीको रुपमा टिकाभैरबस्थित प्रहरी चौकीलाई लिईन्छ । नल्लु खोलामा अबैध रुपमा सञ्चालनमा रहेको ढुंगा खानी तथा क्रसर उद्योगका नाइकेहरुसँग चौकी इन्चार्जको बाक्लो उठबसका कारण त्यस चौकी सधैँ विवादमा तानिरहन्छन् ।
त्यस चौकी प्रहरीका आम्दानीको आकर्षक थलोको रुपमा पनि हेरिन्छ । त्यसकारण प्रायः जुनियर प्रहरीहरु एक पटक त्यस चौकीमा बस्न इच्छा राख्छन् । त्यहाँ सरुवा भई जान ललितपुर प्रहरी भित्र तँछाड मँछाड नै चल्दछ । किनकी यस चौकीलाई राम्रो आम्दानीको स्रोतको रुपमा लिन्छन् ।
यस्तै पछिल्लो पटक महिनादिन अघिमात्रै सरुवा मागेर आएका प्रहरी नायब निरीक्षक (सई) तिलक गौतम पनि विवादमा तानिएका छन् । आएको एक हप्ता नबित्दै बन्द रहेको अबस्थामा पनि क्रसर उद्योगबाट रोडा, क्रसिङ बेस, लगायतका सामग्री क्रसर नाइकेसँग सेटिङ मिलाएर राति राति मालबाहक गाडीलाई आफ्नो क्षेत्रबाट पास गराईएको स्थानीयले आरोप लगाएका छन् ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले यस क्षेत्रको ढुंगा खानी तथा क्रसर उद्योग कार्तिक ४ गतेदेखि अर्काे सूचना नआएसम्मका लागि बन्द गरेको थियो । त्यसको भोलिपल्टै चौकी इन्चार्ज गौतमले सेटिङमा राति मालबाहक गाडीलाई आफ्नो क्षेत्रबाट कटाए । तर एकान्तकुनामा ती मालबाहक प्रहरीको फन्दामा परे । त्यसपछि पनि उनले यो समाचार तयार पार्दासम्म सयौँ मालबाहक गाडी रातीको समयमा सेटिङ मिलाएर पास गराईएको सवारी चालकहरु नै बताउँछन् ।
शनिबार राति मात्रै उनले लेले महादेवखोलाबाट ढुंगा बोकेका ३५ भन्दा बढी भारत बेञ्ज गाडीलाई लाईन नै पास गराएका छन् । इन्चार्ज गौतमले हातहतियार खरखजनासम्बन्धी जेल जीवन विताईसकेका वीरेन्द्र महर्जन, सुदर्शन विष्ट लगायतलाई सहज ढंगले रोडा ढुंगा कसरी कटाउन सकिन्छ भन्दै साँठगाँठ गरिसेको स्रोतले बताएका छन् ।
पछिल्लो दिनहरुमा अवैध क्रसर नाइकेहरुसँग गौतमको बाक्लो उठबस रहेको छ । उनले क्रसरका नाइकेहरुलाई चौकीको बाईकमार्फत् स्कर्टिङ गर्ने गरेको समेत स्थानीयले बताएका छन् । क्रसरका नाइके आएको थाहा पाउने वित्तिकै उनले टिकाभैरबदेखि नल्लु खोलाको क्रसरसम्म स्कर्टिङ गर्ने गर्छन् ।
दुई हप्ता अघि मात्रै सुदूरपश्चिम घर भएका दुई जना प्रहरी जवानले मादक पदार्थ सेवन (मापसे) गरि स्थानीय युवाहरुलाई विना कारण टिकाभैरबको बिच बजारमै निर्घात कुटपिट गरेका थिए । यस विषयमा चौकी इन्चार्जले ती मापसे गरी सर्वसाधरणलाई पिट्दै हिँड्ने प्रहरीलाई कारबाही गर्नुको सट्टा उल्टै पिटाई खाने स्थानीय युवाहरुलाई माफी माग्न लगाएका थिए । स्थानीयले उनको कार्यक्षमतामा समेत प्रश्न उठाएका छन् ।
प्रहरीले मात्र सबै हेर्न सक्दैन, जनशक्तिको अभाव छ, सई गौतमले खोजतलाससँग भने, ‘जसले आरोप लगाएको हो उसलाई नै सोध्नु ।’ केही गरी कसैले ल्याएको रहेछ भने आएकै तर्फ फर्काउने गरेको गौतमको बताए ।
महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी कृष्णराज ओझा विदा गएको मौका पारी प्रहरी निरीक्षक राजेन्द्र थापाको साँठगाँठमा सई गौतम व्यवसायीहरुसँग मिलेर ढुंगा, बालुवा निकासी गरिरहेको स्थानीयको आरोप छ ।