काठमाडौं । कम्युनिस्ट पार्टीका नेताहरुको चीन ओहोरदोहोर बढेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुलाई चीनले भ्रमण गराइरहेको छ । नेकपा माओवादी केन्द्रका नेताहरु शुक्रवारबाट चीन भ्रमणमा जाने भएका छन् । २० जनाको टोलीसहित माओवादी नेता तथा पूर्वसभामुख अग्नि सापकोटा चीन जान लागेका हुन् ।
एमालेका नेताहरु चीन भ्रमणबाट फर्किए पछि माओवादी नेताहरु जान लागेका हुन् । अप्रिलमा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालसहितको टोली चीन गएर फर्किएको हो । विश्वका विभिन्न देशको कम्युनिस्ट पार्टीहरुको वर्कशपमा भाग लिएर उनी फर्किएका हुन् । २०७९ मा पनि एमाले र माओवादी केन्द्रका प्रभावशाली नेताहरुको संयुक्त टोली चीन पुगेको थियो । एमाले उपाध्यक्ष विष्णु पौडेल र माओवादी महासचिव देव गुरुङको टोली चीन पुगेर फर्किएको थियो । चिनियाँ कम्युनिस्ट पार्टीसँग नेपालका मुख्य कम्युनिस्ट पार्टीहरुको गहिरो सम्बन्ध छ । २०७७ मा चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीले संयुक्त प्रशिक्षण समेत आयोजना गरेका थिए ।