काठमाडौँ/विश्वभरि बढ्दै गइरहेको पर्यावरण प्रदुषण कम गराउन वी लभ यू फाउण्डेसनले चन्द्रागिरी नगरपालिका वडा नं। ६ मा वृहत बृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । आज आइतबार विहान ८ बजेदेखि शुरु भएको उक्त कार्यक्रममा तीन सयभन्दा बढी फाउण्डेसनका स्वयंसेवक तथा नागरिक अगुवाहरुले सुन्दर फलफुलका बिरुवाहरु तथा विभिन्न जातका बोटहरुको वृक्षारोपण गरेर बन संरक्षणमा टेवा पुर्याउनु भएको हो ।
पृथ्वीलाई बचाउने (Saving the earth), जीवन बचाउने (Saving lives) र मानवता बचाउने (Saving Humanity) तीन मुख्य नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रम गर्नुको मुख्य उद्देश्य भनेकै विश्वमा पर्यावरण प्रदुषण कम गराउने र मानवहितका गतिविधिहरुमा उज्जवल र स्वच्छ जीवनशैली निर्माण गराउन यस किसिमको कार्यक्रम आयोजना गरिएको फाउण्डेसनका सल्लाहकार नारायण श्रेष्ठले जानकारी गराउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा पूर्व कृषि मन्त्री तथा बागमती प्रदेशका सांसद केशव पोखरेल, विशेष अतिथिमा रमा आले मगर, अतिथिहरुमा सांसद यमुना महर्जन, चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी तथा उपमेयर बसन्ती श्रेष्ठ तथा अतिथीहरुमा फाउण्डेसनका सदस्यहरू राम कुमार, देवेन्द्र हुमागाइ, शम्भू श्रेष्ठ, चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष संजय सिक्देल, पार्क निर्माण समितिका सचिव चन्द्रमणि केसी, रेखदेख कमिटिका अध्यक्ष अर्जुन बस्नेत, गुमाल चौकी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जानकी बस्नेत लगायत अन्य नागरिक अभियन्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
फाउण्डेसनले नेपालमा मानव हितका यस्ता थुप्रै गतिविधिहरु निरन्तर रुपमा आयोजना गर्दै आइरहेको छ जसमा थुप्रै स्कुलहरूमा पुस्तकालयहरूको निर्माण कार्य, रक्तदान अभियान, वृक्षारोपण अभियान, सडक तथा नदी सरसफाई अभियान रहेको छ ।





