काठमाडौं, ३ कात्तिक । आज बिहान काठमाडौं मेडिकल कलेज (केएमसी)को तीन तलाबाट एक बिरामीले हामफालेपछि गम्भीर घाइते भएका ती विरामीको उपचारको क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार आज बिहान ८ः४५ बजे २६ वर्षीय रोशन खड्काले हामफालेका हुन् । सोलुखुम्बुको जुगु गाउँपालिका घर भई बानेश्वरमा बस्ने गरेका उनी आइतबार साँझ अस्पताल भर्ना भएका थिए । उनको मानसिक सन्तुलन ठिक थिएन ।
गौशालास्थित महानगरीय प्रहरी वृत्तका अनुसार आगोले हातखुट्टा पोलेपछि उपचारका लागि उनी केएमसी ल्याइएको थियो । कुरुवा बसेकी आमा औषधि किन्न गएका बेला उनी अस्पतालको झ्यालबाट हामफालेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते अवस्थामा फेला परेका उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।