सुगर रोगलाई हेलचेक्र्याई गरे महत्वपूर्ण अंगको क्षति हुन सक्छ 

22.9k Shares

सुगर रोग यस्तो रोग हो कसैलाई लक्षण देखा पर्न सक्छ भने कसैलाई लक्षण देखा नपर्न पनि सक्छ । सुगर रोगलाई हामीले हेलचेक्र्याई गरेको खण्डमा यसले हाम्रो शरीरको महत्वपूर्ण अंगलाई असर गर्छ ।  सुगर रोगलाई नियन्त्रणमा राख्न नसकेको खण्डमा यसले किड्नी बिगार्न सक्छ, आँखालाई असर गरी अन्धोपना ल्याउनुका साथै मुटु, नसा र खुट्टालाई पनि असर पार्न सक्छ । सुगर रोग कस्तो रोग हो र यो रोगबाट बच्ने उपायदेखि लिएर सावधानी अप्नाउने तरिकासम्मका विषय बस्तुलाई समेटेर सुमेरु सिटी अस्पतालकी वरिष्ठ डा. मनिषा मिश्रसँग खोजतलास साप्ताहिकका लागि विश्वास भट्टराईले गरेको संक्षिप्त कुराकानीः
सुगर कस्तो खालको रोग हो ?
रगतमा चिनीको मात्रा आवश्यकता भन्दा बढी भएको अवस्थालाई सुगर अर्थात् चिनीरोग भएको भन्दछौँ । हाम्रो शरीरमा इन्सुलिन भन्ने हर्मोनको कमी हुन्छ । यो हर्मोन हाम्रो पेटमा रहेको पेङक्रियाज भन्ने अंगले उत्पादन गर्छ । यसको उत्पादन कम भयो भने या हर्मोनले राम्रोसँग काम गर्ने अवस्था भएन भने रगतमा चिनीको मात्रा बढ्छ । रगतमा चिनीको मात्रा बढेपछि यसलाई हामी सुगर रोग लागेको भन्दछौँ । यसको समयमा सहि उपचार हुन सकेन भने शरीरको बिभिन्न भागमा समस्या ल्याउने काम गर्छ । 
सुगर रोग उमेरका कारण र बंशाणुगत पनि हुन्छ भनिन्छ नि ?
सुगर रोग जुनसुकै उमेरका व्यक्तिलाई पनि लाग्न सक्छ । सुगर रोग विभिन्न प्रकारका हुन्छन्, विशेष गरी तीन प्रकारका हुन्छन् । जस्तो एक Type-1 डाइवेटिज, नम्बर दुई Type-2 डाइवेटिज र नम्बर तिन  Gestational डाइवेटिज हो । टाइपवान डाइबेटिज भनेको चाहिँ साना बच्चादेखि करिब २० वर्षको उमेरका व्यक्तिहरुलाई लाग्ने गर्छ । यसमा इन्सुलिनको उत्पादन नै हुँदैन,  यसमा अकस्मात देखिने सुगर रोग हो । यसलाई इन्सुलिनबाटै उपचार गराइन्छ । टाइपटु डाइबेटिज भनेको चाहि चालिस वर्षसम्मका उमेरका प्रायः मोटोघाटो व्यक्तिलाई लाग्ने सुगर रोग हो । यस रोगका विरामीमा इन्सुलिन उत्पादन त हुन्छ तर राम्रोसँग काम गर्दैन अर्थात् उत्पादन भएको इन्सुलिनलाई पनि राम्रोसँग ग्रहण गर्न सक्दैन यस्तो अवस्थाको सुगरको पेसेन्टलाई टाइपटु डाइवेटिज रोग हो । विश्वमा सबैभन्दा बढी मानिसलाई यस्तो खाले सुगरको रोग लाग्ने गर्छ । अर्को तेस्रो भनेको जेस्टेशनल डाइबेटिज भनेको विशेष गरी तीनदेखि ६ महिनाको गर्भवती महिलालाई देखिने सुगर हो । यस्तो अवस्थामा महिलालाई हर्मनको कमीका कारण इन्सुलिन उत्पादनमा कमी आउने भएका कारण जेस्टेशनल डाइवेटिज देखिने गर्छ । यो रोग बच्चा पाइसकेपछि ५० प्रतिशत महिलामा अटोमेटिक टाइपटु डाइवेटिज हुनसक्ने सम्भावना हुन्छ ।
 सुगर कन्ट्रोल गर्न कस्ता उपायहरु अप्नाउनुपर्छ ?
सुगर रोगको कसैलाई लक्षण देखा पर्न सक्छ भने कसैलाई नदेखिन पनि सक्छ । खाना रुचेर पनि तौल घट्दै जाने, पिसाव सामान्य भन्दा धेरै पटक लाग्ने, मुख सुख्खा हुने, प्यास धेरै लाग्ने, भोक बढी लाग्ने तर दुव्लाउदै जाने, कमजोरी हुने र खुट्टाहरु झम्झमाउने, खुट्टाहरु पोल्न, घाउहरु छिटो निको नहुने आदि लक्षणहरु देखा पर्न सक्छन् । धेरै जनाले सोध्नुहुन्छ धेरै पटक पिसाव भनेको कति पटक हो ? तर म के भन्छु भने सामान्य भन्दा बढी अर्थात् दिनमा दुई तीन पटक पिसाव हुन्थ्यो भने अव चाहि ८—१० पटक लाग्न थाल्यो भने मधुमेहको शंका गर्नुपर्छ । सबैभन्दा पहिले त म हरेक स्वस्थ मानिसले ६ महिनामा एक पटक मधुमेहको जाँच गराउनै पर्छ । लक्षणको आधारमा यसको पहिचान सहज हुने भयो तर लक्षण नदेखिकन रोग लाग्यो भने समस्या पर्छ । त्यसैले हरेक स्वस्थ मानिसले ६ महिनाको एक पटक रुटिन टेष्ट गराउनुपर्छ । हरेक व्यक्तिले ३० बर्षको उमेर कटेपछि ६ महिनाको अन्तरालमा सुगरको जाँच गराउनु उपयुक्त हुन्छ । किनभने आफूमा सुगरको मात्रा कन्ट्रोल अवस्थामा छ कि छैन भन्ने जानकारी पाउन सकिन्छ ।
सुगर नियन्त्रण भएन भने के हुन्छ ? 
सुगर भएर नियन्त्रणमा राख्न सक्नु भएन भने यसले धेरै अंगलाई असर गर्न सक्छ । टाउको देखि खुट्टासम्म त्यममध्ये प्रायः देखिने एउटा असर भनेको आँखामा हुने गर्छ । आँखाको पर्दालाई असर गर्छ । नेपालमा सुगरकै कारणले हुनसक्ने अन्धोपनको सम्भावना २५ गुना बढी हुन्छ । अर्को असर मिर्गौलामा गर्छ । मिर्गौलाबाट प्रोटिन लिक गराएर मिर्गौला फेल हुने सम्भावना पाँच गुनाले बढ्छ । मुटु हृदयघात, मस्तिस्कघात हुने सम्भावना दोव्वर हुन्छ । पक्षघातको सम्भावन पनि धेरै नै हुन्छ । त्यसपछि खुट्टाको नसालाई समेत असर गरेर खुट्टाको घाउ निको नहुने र खुट्टामा काट्नुपर्ने सम्भावना २० गुणा बढी हुन्छ । यी मुख्य हुन तर अन्य फुटकर असरहरु भई रहन्छ ।
के कारणले हुन्छ सुगर ?
सुगर दुई कारणले हुन्छ । एउटा बंशजको आधार अर्थात् परिबारको एक सदस्यलाई भयो भने त्यो जिनको आधारमा सन्तानहरुमा देखिने । अर्को भनेको जीवन शैली नै हो । त्यो भनेको मोटोपन नियन्त्रण हुन नसक्ने, व्यायममा कमी, खानपानमा गडबढी नै हो । चिल्लो गुलियो र क्यालोरी भएको खानेकुरा नै दुम्मन हुन् । बंषाणुगत समस्या भएपनि जीवन शैली सुधार्नु भयो भने नरहने सम्भावना पनि हुन्छ । तर मेरो बंशजमा छैन भनेर जीवन शैली सुधारेन भने हुने सम्भावना बढि हुन्छ ।
सुगर विरामीले जीवनशैलीमा कस्ता सुधारहरु गर्नुपर्छ ? 
सामान्य खानपान अपनाउनु नै राम्रो हो । तर त्यसमा बिचार पु¥याउनुपर्छ । क्यालोरी भएको चिज अर्थात् भात, मैदा, आलु, गुलियो चिल्लो फ्याट बढी हुने चिजहरुको कम सेवन गर्नुपर्ने हुन्छ । खाना खाँदा एकैचोटी पेट भरी खाने होइन, पटक—पटक गरेर खाने गरेमा पनि सुगर नियन्त्रण गर्न सकिन्छ । विश्वमा ४० वर्षमाथिका चार जना मानिसमध्ये एक जनालाई सुगर हुने गरेको पछिल्ला अध्ययनहरुले देखाएका छन् । स’गर बढ्दै जाँदा आँखा, मृगौला, मस्तिष्क, मुटु, नसा लगायत शरीरका विभिन्न अंगमा पनि थप समस्या बढ्दै जान्छ । दैनिक रुपमा एक घन्टा सामान्य व्यायाम मात्रले पनि सुगर लाग्ने सम्भावना ४० प्रतिशतसम्म घट्न सक्छ ।
सुगर कसरी नियन्त्रणमा राख्ने ?
सुगरको किसिम, बिरामीको अवस्था तथा दैनिक कामको प्रकृति आदिलाई ध्यानमा राखी यसको उपचार गरिने भएकाले बिरामीहरुले चिकित्सकको परामर्श लिनु जरुरी हुन्छ । संयमित एवं सन्तुलित खानपान, नियमित व्यायाम र आवश्यकता अनुसारको सही औषधि वा इन्सुलिनको प्रयोग गरेर सुगरलाई नियन्त्रणमा राख्न सकिन्छ । सुगर रोगीले आफ्नो खानाबारे थाहा पाइराख्नुपर्छ । सुगर रोगीहरुले खानपिनमा ध्यान दिनुपर्छ । कार्बोहाइड्रेटयुक्त खाना जस्तैः भात, आलु कम खाने, चिल्लो वा बोसो नभएको मासु खाने तर रातो मासु धेरै नखाने । अण्डा र ताजा माछा ठिक्क मात्रामा खाने । सागसब्जी, बन्दा, काउली, काँक्रा, भन्टा, गोलभेंडा, मुला, गाँजर, प्याज र फलफूल पर्याप्त खाने । झोल वा सुप खाने । नुन कम खाने । तरकारी पकाउँदा तोरी अथवा भटमासको तेल कम मात्रामा खान हुन्छ । सुगर बिरामीले बढी फाइबर पाइने गहुँ, मकै, कोदो, फापर आदिबाट बनेका खानेकुरा खानु राम्रो हुन्छ । 
तनावले सुगर रोगीलाई असर गर्छ कि गर्दैन ? 
तनाबले ब्लड सुगरको तहलाई असर गर्छ । अत्यधिक तनाबका कारण ग्लुकोन र कोर्टिसो नामक खुसी गराउने तत्वहरु हराउने गर्छन् । यस्तो हर्मनले ब्लड सुगरको तहलाई वृद्धि गर्छ । एक अध्ययन अनुसार व्यायाम, खुसी र ध्यानले तनाबलाई घटाउनुका साथै ब्लड सुगरको तह घटाउँछ । योगा र तनाब घटाउने अन्य व्यायामले क्रोनिक डायबिटिजमा इन्सुलिन निस्काशन हुने समस्यालाई सच्चाउछ ।
सुगर कुन अवस्थालाई सामान्य मानिन्छ ?
फास्टिङमा ११० भन्दा कम । पीपी १४० भन्दा कम भएको मधुमेहलाई सामान्य मानिन्छ । बेलुका ७ बजे खाना खाएको अवस्थामा भोलि बिहान ९ देखि ११ बजे परीक्षण गरेको सुगर खासै मिल्दैन । त्यो समयसम्म तपाईंको शरीरले केही पनि खाना पाएन भने आफै सुगर बनाउँछ । त्यस्तो अवस्थामा सुगर परीक्षण गर्दा फल्स पोजेटिम रिजल्ट आउनसक्छ । ८ घण्टासम्म केही खाइएन भने त्यसलाई फास्टिङ भनिन्छ । बिहान परीक्षण गरेको सुगर फास्टिङको समयमा पर्छ । ‘टाइप वान’ सुगर छ भने त्यसको उपचार विधि इन्सुलिन नै हो । इन्सुलिनबाहेक अरू उपाए छैन । ‘टाइप टु’ सुगरमा पनि दुई तीनवटा औषधि चलाउँदा सुगर नियन्त्रित नभएको अवस्थामा सक्दो छिटो इन्सुलिन प्रयोग गर्नुपर्छ । इन्सुलिन तपाईंको शरीरले उत्पादन गर्न सकेन भने विकल्प इन्सुलिन नै हो । अरू औषधि दिँदा पनि इन्सुलिनको उत्पादन बढाउने हो तर हामीले बाहिरबाट इन्सुलिन पाउनु सबैभन्दा राम्रो उपचार त्यो हो । हामी नेपालीमा अन्तिम अवस्थामा मात्रै इन्सुलिन प्रयोग गरिन्छ भन्ने बुझाइ छ । तर त्यस्तो होइन, सुरुमै जति सक्दो छिटो इन्सुलिन चलाउन सकियो, त्यति नै महत्वपूर्ण अङ्गहरु जोगाउन सकिन्छ । त्यसैले इन्सुलिन, औषधिको विषयमा बिरामीले राम्रोसँग बुझ्नुपर्छ । तर हाम्रो नेपालमा बिरामी हतारमा आउने हतारमा जाने चलन छ । तपाईंले आफ्नो चिकित्सकसँग २० मिनेट राम्रोसँग कुरा गर्न पाउनुपर्छ । २० मिनेट नै नलाग्ला ५ मिनेटमा पनि सबै कुरा टुङ्गिन सक्ला तर आफ्नो रोग उपचार, ध्यान दिनुपर्ने कुराको बारेमा भने स्पष्ट रूपमा बुझ्नुपर्छ । अस्पतालमा आउँदा बिरामी मात्रै आउने भन्दा पनि सँगै परिवारका अन्य सदस्य पनि ल्याउनु राम्रो हुन्छ । तपाईंको रोगको बारेमा परिवारलाई थाहा हुनुपर्छ । आफ्नो स्वास्थ्य अवस्था के छ भनेर महत्वपूर्ण अङ्गको अनिवार्य जाँच गर्नु नै पर्छ ।

सम्बन्धित समाचार