यूएईसँग पीएनजी ६ विकेटले पराजित

18.9k Shares

काठमाडाैं, १ चैत । कप्तान मोहम्मद वासिमको कीर्तिमानी शतकको सहयोगमा यूएईले आईसीसी विश्वकप लिग-२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) लाई ६ विकेटले पराजित गरेकाे छ ।

पीएनजीले दिएको २३५ रनको विजयी लक्ष्य यूएईले ४ विकेट गुमाएर ३८.४ ओभरमै पूरा गर्‍यो। यूएईको जितमा कप्तान वासिमले विस्फोटक ब्याटिङ गर्दै कीर्तिमानी शतक प्रहार गरे। ४ चौका र ११ छक्कासहित उनले ६० बलमा शतक बनाए। आफ्नो ओडिआई करिअरको पहिलो शतक पूरा गरेका उनले ७६ बल खेल्दै १२ छक्का र ६ चौकासहित ११९ रन बनाए।

६० बलमै शतक हानेका उनी युएईबाट सर्वाधिक छिटो शतक हान्ने खेलाडीसमेत हुन्। यसअघि वृत्य अरविन्दले ६९ बलमा नामिबियाविरुद्ध शतक प्रहार गरेका थिए ।

यस्तै वृत्य अरविन्दले ३३ रन बनाउँदा सिपी रिजवानले नटआउट २९ रन बनाए। यस्तै आयन अफजाल खानले २७ रन बनाउदा आशिफ खान ११ रनमा अभिजित रहे ।

पिएनजीका रिले हेकुरेले २ तथा काबुआ मोरेआ र जोन कारिकोले १-१ विकेट हात पारे। त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पिएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३४ रन बनाएको थियो।

उसका लागि कप्तान असाद भालाले सर्वाधिक ६५ रन बनाए। यस्तै नर्मन भानुवाले बिस्फोटक ब्याटिङ गर्दै ३१ बलमा १ चौका र ५ छक्कासहित ४९ रनमा अविजित रहे। हेकुरे २२ बलमा ३ चौका र २ छक्कासहित ३३ रनमा रन आउट रहे।

युएईका लागि तीव्र गतिका बलर हजरत बिलालले सर्वाधिक ४ विकेट लिए। रोहन मुस्तफा र जवार फरिदले एक एक विकेट हात पारे। यो सँगै पिएनजीले लिग २ का सबै ३६ खेल सकाएको छ। ५ जितसहित ११ अंक जोडेको पिएनजी अंक तालिकाको पुछारमा रहेको लिग अत्य गर्‍यो। यता आफ्नो १५ औं जित निकालेको यूएईले ३३ अंक जोडेको छ।

अब लिग २ को अन्तिम खेलमा बिहीबार यूएईले नेपालको सामना गर्नेछ।

सम्बन्धित समाचार